माघ २७,पोखरा
खेल, स्वास्थ्य र पर्यटनलाई एउटै दौडमा जोड्दै २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ फागुन २ गते (शनिबार) पोखरामा भव्य रूपमा आयोजना हुँदैछ।
सुजल डेरीको मुख्य उत्पादन ‘सफल दुध’ को मुख्य प्रायोजन तथा नेपाल भूतपूर्व खेलाडी मञ्च को आयोजनामा हुने यो म्याराथनले यस वर्ष पोखरालाई फेरि एकपटक अन्तर्राष्ट्रिय खेलकुद सहरको पहिचान दिलाउने भएको छ।
४२ किलोमिटरको अन्तर्राष्ट्रिय म्याराथन, २१ किलोमिटरको हाफ म्याराथनसहित २१ वटा आकर्षक दौडमा प्रतिस्पर्धा हुने गरी ३ हजार ५ सय ६ जना धावकले औपचारिक दर्ता गराइसकेका छन्।
‘रन फर फन’ लगायत आम नागरिक लक्षित दौडसमेत गरी करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ। विश्वका धावक पोखरामा नेपालसँगै अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायतका देशबाट अनुभवी अन्तर्राष्ट्रिय धावकहरूको सहभागिताले यस संस्करणलाई विश्वस्तरीय बनाउने मञ्चका सचिव महेश पौडेल ले बताउनुभयो।
पुरस्कार, सम्मान र इतिहास यस वर्ष २१ प्रतिस्पर्धाका ७६ विजेता लाई कुल १९ लाख ९८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।पूर्ण म्याराथनतर्फ प्रथम हुनेले ४ लाख, द्वितीयले २ लाख र तृतीयले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।चौथोदेखि आठौँ स्थानसम्मका खेलाडी लाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइनेछ भने ३ हजार ७ सय धावकलाई फिनिसर मेडल प्रदान गरिनेछ।
खेलकुदलाई सम्मान म्याराथनसँगै वैशाख ८ गते स्मारिका प्रकाशन गर्दै नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका २ व्यक्तिलाई राष्ट्रिय पुरस्कार घोषणा गरिनेछ। उनीहरूलाई सम्मानपत्र, पदक र जनही १ लाख रुपैयाँ नगद सहित सम्मान गरिने पूर्व अध्यक्ष तेजबहादुर गुरुङ ले जानकारी दिनुभयो।
प्रविधिमा फड्को, व्यवस्थापनमा सुधार ,यस पटक अघिल्ला संस्करणका कमजोरी सुधार गर्दै प्रविधिक व्यवस्थापन थप चुस्त बनाइएको प्राविधिक संयोजक ओम गुरुङ ले बताउनुभयो।मुख्य प्रायोजक सफल दुध ले २०८३ सालसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
बेलायतदेखि पोखरासम्म खेल मैत्री यसैबीच, बेलायतबाट पोखरा आएको सहारा यूकेका अध्यक्ष सारदा गुरुङ सहितको जम्बो टोलीलाई आयोजक मञ्चले स्वागत गरेको छ। टोली आहा–रारा पोखरा गोल्ड कप र पोखरा म्याराथन लगायतका प्रतिष्ठित खेलकुद कार्यक्रममा सहभागि हुन पोखरा आएको हो।
पोखरा फेरि दौडिँदैछ, स्वास्थ्यका लागि दौडन्छ, पर्यटनका लागि दौडन्छ,र विश्वसँग जोडिनका लागि फेरि पनि दौडन्छ।






प्रतिक्रिया