फागुन २७, पर्वत
पर्वत जिल्लामा अफ्रिकन स्वाइन फिभरका कारण ४६ वटा बङ्गुर मरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका आसपासका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो देखिने, खाना नखाने तथा अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो।
संकलित नमूनामा गरिएको र्यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ। थप पुष्टि गर्न ती नमूनाहरू केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए।
कार्यालयले रोग देखिएको क्षेत्रमा अनुगमन बढाएको छ र किसान लाई बङ्गुर पालनस्थल सफा राख्न, फार्ममा चुन, ब्लिचिङ पाउडर, फर्मालिन जस्ता औषधि प्रयोग गरी नियमित निसङ्क्रमण गर्न, बिरामी बङ्गुरलाई अलग्गै राख्न तथा जैविक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
यसैगरी, शंका लागेमा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन र होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने सुझाव पनि दिइएको छ।







प्रतिक्रिया