चैत्र २४, पोखरा
मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थापना तथा अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ।
आश्रमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ। साथै अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने, लक्ष्मी–नारायण मन्दिर निर्माण सम्पन्न गरी नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ।
मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो। हाल आश्रम देशका सातै प्रदेशका २२ जिल्लामा २९ सेवा केन्द्रमार्फत सञ्चालनमा रहेको छ भने २१०० भन्दा बढी सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण दिइरहेको छ। पोखरा सेवा केन्द्रमा मात्र हाल २७५ जना आश्रित रहेका छन्।
महायज्ञअन्तर्गत वैशाख १९ गते बिहान ७:३० बजे बाजागाजा, सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिनेछ भने १०:३० बजे औपचारिक उद्घाटन गरिने कार्यक्रम छ। वैशाख २० देखि २६ गतेसम्म दैनिक योग शिविर, विद्यार्थी लक्षित प्रेरणात्मक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, तथा भागवत कथा वाचन सञ्चालन हुने जनाइएको छ। कथा वाचन गुरु भागवत भाष्कर कमलनयन गौतमबाट हुने आयोजकले जनाएको छ।
त्यसैगरी, महायज्ञ अवधिभर भजन–कीर्तन, सांगीतिक प्रस्तुति, धार्मिक अनुष्ठान तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम तय गरिएको छ।
आश्रमका अनुसार हालसम्म पोखरा–२५ हेम्जास्थित भवन निर्माणमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने सम्पूर्ण योजना सम्पन्न गर्न थप ९ देखि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। मासिक करिब ३० लाख रुपैयाँ खर्च हुने आश्रमको सेवा सञ्चालनलाई दिगो बनाउन अक्षयकोष निर्माणलाई प्राथमिकता दिइएको बताइएको छ।
आयोजकले महायज्ञ सफल बनाउन देश तथा विदेशमा रहेका दाताहरू, मानवताप्रेमी तथा सम्पूर्ण सर्वसाधारणलाई सहभागी भई सहयोग गर्न अपिल गरेको छ। साथै सञ्चारमाध्यममार्फत कार्यक्रमको व्यापक प्रचारप्रसार गरिदिन आयोजित पत्रकार भेट कार्यक्रममा सो विषय जानकारी दिनुभएकोथियो।







प्रतिक्रिया