चैत्र २४ महोत्तरी
जलेश्वर–बर्दिबास सडक खण्डमा मंगलबार भएको भीषण सवारी दुर्घटनामा तीन जना युवकको जलेरै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
जिल्लाको एकडारा गाउँपालिका–५ अन्तर्गत बथनाहा र बखरीचोकको बीचमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक जानकारी अनुसार, दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा तीन जनाको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरू SEE परीक्षा दिएर घर फर्किंदै गरेका विद्यार्थी भएको आशंका गरिएको छ। यद्यपि उनीहरूको औपचारिक पहिचान खुल्न बाँकी रहेको छ।
दुर्घटनामा परेका अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अंचल अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाको प्रकृति अत्यन्तै दर्दनाक रहेको बताउँदै प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। स्थानीयवासीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रूपमा जलेर नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको जनाइएको छ ।यस घटनाले SEE परीक्षा दिएर फर्किरहेका विद्यार्थीमाथि परेको क्षतिले सो क्षेत्र पुै शोकमा डुवेको छ।







प्रतिक्रिया