चैत्र २८, पोखरा
कास्कीको पोखरामा भएको महिला हत्या घटनापछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था हरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
दोषीलाई कडा कारबाही गर्न माग राखेर पोखरामा क्रियाशील विभिन्न संघसंस्थाहरूले सो घटनामा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग राख्दै तयार पारिएको ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाइएको हो।
चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल के.सी.को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना घट्नुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन्।
ध्यानाकर्षण पत्रमार्फत संघसंस्थाहरूले मृतकलाई न्याय दिलाउन, संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन्।
यसैबीच, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त घटनाप्रति आफू संवेदनशील रहेको बताउनुभएको छ। उहाँले समाजमा पछिल्लो समय यस्ता जघन्य अपराधका घटनाहरू बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको जड प्रायः परिवारभित्रैका समस्याबाट सुरु हुने गरेको धारणा व्यक्त गर्नुभयो। परिवारभित्रका समस्या समयमै समाधान नभएपछि त्यसले पछि गम्भीर अपराधको रूप लिन सक्ने उहाँको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी शर्माले उक्त घटनामा दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनले आफ्नो तर्फबाट पूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मानवअधिकारकर्मीहरूले महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता घटनाहरू न्यूनीकरणका लागि प्रभावकारी कानुन कार्यान्वयन र सुरक्षित सामाजिक वातावरण निर्माणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
ध्यानाकर्षण पत्रमा कास्कीका विभिन्न मानवअधिकार तथा महिला अधिकारसम्बन्धी संघसंस्थाहरूको समर्थन रहेको छ।







प्रतिक्रिया