जेठ २०, पोखरा
पोखरा महानगरपालिका-१६, बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पताल परिसरमा सञ्चालित एक चमेना गृह लाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० हजार रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उपभोक्ताबाट गुनासो प्राप्त भएपछि जेठ १६ गते सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च तथा सञ्चारकर्मीहरू सम्मिलित संयुक्त अनुगमन टोलीले उक्त चमेना गृहको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा चमेना गृहमा आवश्यक सरसफाइको अभाव रहेको,खरिद-बिक्रीका बिल तथा बिजक उपलब्ध गराउन नसकेको, व्यवसाय नवीकरण नगरेएको तथा मूल्यसूचीसमेत नराखी सन्चालन गरेको पाइएको प्रशासनले जनाएको छ।
उक्त कमजोरीका आधारमा चमेना गृहलाई १० हजार रुपैयाँ जरिवाना गरिएको र जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले आगामी दिनमा अस्पताल प्रशासनसँगको सहमति अनुसार मूल्यसूची राख्न, व्यवसाय सम्बन्धी कागजात व्यवस्थित गर्न, नियमित सरसफाइ गर्न, म्याद गुज्रिएका सामग्री सुरक्षित ढंगले नष्ट गर्न, खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै राख्न तथा खरिद–बिक्रीका बिल बिजक अनुगमनका बेला उपलब्ध गराउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका विषयमा कुनै पनि प्रकारको लापरबाही सहन नसकिने स्पष्ट गर्दै व्यवसायीहरूलाई कानुनअनुसार सेवा सञ्चालन गर्न आग्रह गरेको छ।








प्रतिक्रिया