Top Header Ad 1

भाषिक शुद्धताको अभियानः गण्डकीबाट राष्ट्रिय बहसको थालनी

भाषिक शुद्धताको अभियानः गण्डकीबाट राष्ट्रिय बहसको थालनी

परिबर्तन न्युज
३१ श्रावण २०८३ बजे
परिबर्तन न्युज
३१ श्रावण २०८३

साउन ३१, पोखरा

नेपाली भाषामा बढ्दो अशुद्ध प्रयोग, सामाजिक सञ्जालको प्रभाव र विदेशी भाषाको बढ्दो हस्तक्षेपबीच गण्डकी प्रदेशले भाषिक शुद्धताको पक्षमा महत्वपूर्ण अभियान सुरु गरेको छ।

‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ नामक अभियानलाई प्रदेश सरकारले भाषाको संरक्षण र सही प्रयोगका लागि दीर्घकालीन जनजागरण अभियानका रूपमा अघि बढाएको छ।

गएको शनिबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको शुभारम्भ गर्दै भाषाको शुद्ध प्रयोग केवल साहित्यिक विषय नभई समाजको सभ्यता, पहिचान र संस्कृतिसँग जोडिएको विषय भएको बताए। उनले गण्डकीबाट सुरु भएको यो अभियानलाई भविष्यमा राष्ट्रिय अभियानका रूपमा विस्तार गर्न सकिने धारणा राखे।

पछिल्लो समय विद्यालयदेखि सञ्चारमाध्यम, सरकारी कार्यालय तथा सामाजिक सञ्जालसम्म नेपाली भाषामा अनेक त्रुटि देखिन थालेका छन्। यस्ता त्रुटिलाई सुधार गर्दै नागरिकमा भाषिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सुरु गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेका अनुसार अभियानले त्रुटि औँल्याउने मात्र नभई सही प्रयोग सिकाउने कार्यसमेत गर्नेछ। कास्कीबाट सुरु भएको अभियान क्रमशः गण्डकीका सबै जिल्लामा विस्तार गरिने र स्थानीय तहसम्म पुर्‍याइने योजना रहेको उनले बताए।

कार्यक्रममा आयोजित गोष्ठीमा भाषाविद् डा. प्रेमप्रसाद चौलागाईंले नेपाली भाषामा भइरहेका सामान्य त्रुटि, तिनका कारण र सुधारका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले भाषिक त्रुटि व्यक्तिगत कमजोरी मात्र नभई संस्थागत तथा सार्वजनिक प्रयोगका कारण पनि बढ्दै गएको उल्लेख गर्दै सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरे।

गण्डकी प्रदेशले सुरु गरेको यो अभियानलाई भाषिक जागरणको नयाँ अध्यायका रूपमा हेरिएको छ। विशेष गरी विद्यालय, सरकारी निकाय, सञ्चारमाध्यम तथा सार्वजनिक सूचना प्रणालीमा नेपाली भाषाको शुद्ध प्रयोग बढाउन अभियानले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भाषिक शुद्धताको बहसलाई व्यवहारमा उतार्न सकिए नेपाली भाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज