Top Header Ad 1

जलवायु न्यायदेखि डिजिटल सीपसम्म : महिला पत्रकारका लागि क्षमता विकास कार्यशाला सम्पन्न

जलवायु न्यायदेखि डिजिटल सीपसम्म : महिला पत्रकारका लागि क्षमता विकास कार्यशाला सम्पन्न

जलवायुदेखि डिजिटल पत्रकारितासम्म : महिला पत्रकारको क्षमता अभिवृद्धिमा प्रादेशिक कार्यशाला सम्पन्न भएको छ।

परिबर्तन न्युज
२ भाद्र २०८३ बजे
परिबर्तन न्युज
२ भाद्र २०८३

भाद्र २,पोखरा

गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय असरबारे तथ्यमा आधारित, खोजमूलक र प्रभावकारी रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले सञ्चारिका समूह नेपालद्वारा आयोजित तीनदिने ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज सम्पन्न भएको छ।

महिला पत्रकारलाई समयानुकूल प्रविधिमैत्री, खोजमूलक तथा जिम्मेवार पत्रकारितामा दक्ष बनाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यशालामा जलवायु परिवर्तन, समावेशी तथा लैङ्गिक संवेदनशील पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच, मोबाइल पत्रकारिता र पत्रकारिताको आचारसंहिताजस्ता विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालामा सहभागी पत्रकारहरूले जलवायु परिवर्तनले स्थानीय समुदाय, कृषि, पर्यटन, वातावरण तथा जनजीवनमा पारिरहेका प्रभावलाई प्रमाण, तथ्य र स्थानीय अनुभवका आधारमा समाचारका रूपमा प्रस्तुत गर्ने अभ्यास गरेका थिए। साथै, जलवायुका मुद्दालाई महिला, सीमान्तकृत तथा प्रत्यक्ष प्रभावित समुदायको दृष्टिकोणबाट कसरी उठान गर्ने भन्ने विषयमा समेत विस्तृत छलफल भएको थियो।

कार्यक्रममा पत्रकार कमला पन्थीले पत्रकारिताको सामाजिक उत्तरदायित्व, प्रभावकारी समाचार लेखन तथा समाचारको प्रभावबारे सहजीकरण गरेकी थिइन्। त्यस्तै, राजु थापा, कमला पन्थी र अनिशा गौतमले जलवायु परिवर्तनका स्थानीय प्रभाव तथा तथ्य जाँचसम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए।

वरिष्ठ पत्रकार मोहन मैनालीले खोजमूलक पत्रकारिताका नयाँ आयाम, अनुसन्धानमा आधारित रिपोर्टिङ तथा जलवायु न्यायका विषयमा प्रशिक्षण दिएका थिए। डिजिटल पत्रकारितातर्फ विकास कार्कीले मोबाइल पत्रकारिता, डिजिटल मिडिया र डिजिटल फ्याक्ट–चेकिङसम्बन्धी सत्र सञ्चालन गर्दै मोबाइलमार्फत समाचार सङ्कलन, फोटो तथा भिडियो उत्पादन र डिजिटल प्लेटफर्मका लागि प्रभावकारी सामग्री निर्माणका सीपबारे प्रशिक्षण दिएका थिए।

कार्यशालामा डिजिटल लैङ्गिक संवेदनशील रिपोर्टिङ, पोडकास्ट निर्माण, पत्रकारिताको आचारसंहिता, सहभागीहरूको प्रस्तुति तथा आगामी कार्ययोजना निर्माणलगायतका विषयमा समेत अभ्यास गराइएको थियो।

सहभागी महिला पत्रकारहरूले कार्यशालाबाट जलवायु परिवर्तन, खोजमूलक पत्रकारिता र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगसम्बन्धी नयाँ ज्ञान तथा व्यावहारिक सीप हासिल भएको प्रतिक्रिया दिएका छन्।

आयोजक सञ्चारिका समूह नेपालले महिला पत्रकारलाई आधुनिक पत्रकारिताका सीपसँग जोड्दै जलवायु परिवर्तनका असरलाई तथ्य, प्रमाण र स्थानीय आवाजका आधारमा उजागर गर्न सक्षम जनशक्ति निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थीको अध्यक्षतामा सम्पन्न कार्यशालाको संयोजन सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष राधिका कडेलले गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज