Top Header Ad 1
Top Header Ad 2

भवन निर्माणभन्दा सञ्चालन चुनौतीपूर्ण : ज्येष्ठ नागरिक सेवामा समर्पित श्रवणकुमार केन्द्र

भवन निर्माणभन्दा सञ्चालन चुनौतीपूर्ण : ज्येष्ठ नागरिक सेवामा समर्पित श्रवणकुमार केन्द्र

"ज्येष्ठ नागरिक बोझ होइनन्, हाम्रो इतिहास र संस्कारका जीवित पुस्तक हुन्" पोखरा–१६ को श्रवणकुमार ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि समुदायको साझा सहकार्य आवश्यक

परिबर्तन न्युज
७ भाद्र २०८३ बजे
परिबर्तन न्युज
७ भाद्र २०८३

भदौ  ७, पोखरा

पोखरा महानगरपालिका वडा नं.१६ बडहरबोट-कोलगैरामा स्थापना गरिएको श्रवणकुमार ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र यही असोज १४ गतेबाट सञ्चालनमा आउनुभएको छ।

जेष्ठ नागरिकहरूको सम्मान, सुरक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सहभागिताका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास भइरहेको यो केन्द्रले जेष्ठ नागरिकहरूको सेवामा सेबाको भावनासहित निर्माण गरिएको यो दिवस केन्द्रले ज्येष्ठ नागरिकहरूलाई घरजस्तै वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ।

केन्द्रका अध्यक्ष दानबहादुर बानियाँ का अनुसार यो पूर्ण रूपमा दिवा सेवा केन्द्र हो। यहाँ ज्येष्ठ नागरिकहरू दिनभरि भेटघाट, मनोरञ्जन, स्वास्थ्य परामर्श तथा सामाजिक गतिविधिमा सहभागी हुन सक्नेछन्। यो राति बस्ने आश्रयस्थल नभई दिनको समयमा ज्येष्ठ नागरिकहरूलाई सक्रिय र उत्साही बनाउने उद्देश्यले सञ्चालन गरिएको केन्द्र हो।

“आज हामी उहाँहरूको साथमा छौं, भोलि हाम्रो साथमा कोही हुनेछ,” भन्ने भावना अध्यक्ष बानियाँले व्यक्त गर्नुभयो। “ज्येष्ठ नागरिकहरू उमेरले मात्र होइन, अनुभवले पनि श्रेष्ठ हुनुहुन्छ। उहाँहरू हाम्रो गौरव, हाम्रो ज्ञान र हाम्रो अमूल्य धरोहर हुनुहुन्छ। ज्येष्ठ नागरिक बोझ होइनन्, उहाँहरू हाम्रो इतिहास, अनुभव र संस्कारका जीवित पुस्तक हुन्।”

उहाँका अनुसार केन्द्रमा सदस्यता लिने व्यवस्था गरिएको छ। सदस्यता शुल्क १० हजार रुपैयाँ तोकिएको छ र सकेसम्म छोरा छोरी वा नातिनातिनाले आफ्ना अभिभावकको सम्मानस्वरूप सदस्यता गराइदिन आग्रह गरिएको छ। यद्यपि केन्द्रमा सदस्य भएका व्यक्तिहरू मात्र नभई जोसुकै ज्येष्ठ नागरिक आउन सक्ने व्यवस्था गरिएको छ।

केन्द्रको सञ्चालन खर्च चुनौतीपूर्ण भए पनि व्यवस्थापन समितिले दीर्घकालीन योजना बनाएको जनाएको छ। यहाँ आउने ज्येष्ठ नागरिकहरूको औषधोपचार, हेरचाह, कर्मचारी तलब तथा अन्य व्यवस्थापन खर्चको स्रोत जुटाउनु निर्माणभन्दा पनि ठूलो चुनौती रहेको अध्यक्ष बानियाँको भनाइ छ।

हरियाली वातावरण, खुला बगैँचा तथा ज्येष्ठ नागरिकमैत्री पूर्वाधार सहित निर्माण भइरहेको केन्द्र अझै पूर्णता नपुगेको भए पनि यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। “भवन बनाउनु मात्र ठूलो विषय रहेनछ, त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु झन् ठूलो जिम्मेवारी रहेछ,” अध्यक्ष बानियाँले बताए।

केन्द्रको निर्माण कार्य पूर्व पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी को कार्यकालमा करिब ११ लाख रुपैयाँ बजेटबाट सुरु भएको थियो। त्यसपछि विभिन्न चरणमा थप १२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट ७ लाख रुपैयाँ तथा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको संसदीय विकास कोषबाट १० लाख रुपैयाँ समेत प्राप्त भएको थियो।

गण्डकी प्रदेशका तत्कालीन मन्त्री विन्दुकुमार थापा ले २०८२ जेठ २४ गते भवन उद्घाटन गर्दा यस परियोजनामा २ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको र पूर्ण सम्पन्न गर्न करिब ४ करोड रुपैयाँ आवश्यक पर्ने जानकारी गराएका थिए। पछिल्लो विवरणअनुसार हालसम्म करिब २ करोड ४० लाख रुपैयाँ बराबरको खर्च भइसकेको छ भने योजना पूर्ण रूपमा सम्पन्न गर्न अझै करिब डेढ करोड रुपैयाँ आवश्यक पर्ने केन्द्रले जनाएको छ।

केन्द्रका पदाधिकारीहरूले सम्पूर्ण काम पारदर्शी ढंगले सञ्चालन गरिएको बताएका छन्। आगामी दिनमा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि सदस्यता शुल्क, उद्योगी–व्यवसायीहरूको सहयोग, आर्थिक रूपमा सक्षम व्यक्तिहरूको योगदान, सामाजिक व्यक्तित्व, बैंकिङ क्षेत्रका व्यक्तिहरूको सहयोग, क्यालेन्डर प्रकाशन, देउसी–भैलो कार्यक्रमलगायत विभिन्न माध्यमबाट आम्दानीका स्रोत विस्तार गर्ने योजना रहेको छ।

ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले हरेक वर्ष अक्टोबर १ (असोज १४) लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरेको छ भने नेपालमा पौष ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने प्रचलन रहेको छ।

केन्द्रको वर्तमान कार्यसमितिमा अध्यक्ष दानबहादुर बानियाँ, उपाध्यक्ष  जगन्नाथ तिमिल्सिना, सचिव दिनेश कुमार श्रेष्ठ, कोषाध्यक्ष पोषणबहादुर थापा, सहसचिव अमृत तिमिल्सिना र सौगात थापा रहेका छन्। सदस्यहरूमा चित्रबहादुर थापा, कमला तिमिल्सिना, क्षेत्र राना, राजकुमारी बानियाँ, कपिल थापा, नारायणबहादुर थापा, रामबहादुर जिसी, विश्वमान गुरुङ र बलराम गायक रहेका छन्। केन्द्रका सल्लाहकारहरूमा नरहरी भट्टराई (संयोजक), नरनाथ भट्टराई तथा तारानाथ तिमिल्सिना रहेका छन्।

केन्द्रका अध्यक्ष दान बहादुर बानियाँ  का अनुसार यस संस्थालाई निरन्तर र दिगो रूपमा सञ्चालन गर्नको लागि सम्भावित स्रोतहरू यसको लागि लिने सदस्यता रकम, उद्योग कलकारखाना, सरकारी निकायहरू संघ सरकार , प्रदेश सरकार र स्थानीय सरकार  साथै मनका धनी व्यक्तित्वहरु सामाजिक व्यक्तित्वहरु, वार्षिक रुपमा प्रकाशन गरिने क्यालेन्डर र धार्मिक रूपमा दीपावलीमा खेलिने देउसी भैलो कार्यक्रम नै महत्वपूर्ण रहनेछन् भन्नुभयो।

ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले “ज्येष्ठ नागरिक हाम्रो गौरव, हाम्रो ज्ञान र हाम्रो अमूल्य धरोहर हुन्” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको छ। यहाँ आउने प्रत्येक ज्येष्ठ नागरिकले आफ्नै घरको अनुभूति गर्न सकून् भन्ने उद्देश्यसहित सेवा विस्तार भइरहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज