भाद्र १२, चितवन
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहँदा शव व्यवस्थापन र पहिचानको विषय थप चुनौतीपूर्ण बन्दै गएको छ।
हालसम्म सयौं शव फेला परिसकेका छन् भने अझै ठूलो सङ्ख्यामा मानिस बेपत्ता रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने अनुमान गरिएको छ।
चितवनका अर्जुन भुसालले फेला परेका शवहरूबाट दुर्गन्ध फैलिन थालेको भन्दै शव व्यवस्थापनका लागि सरकारसँग पर्याप्त तयारी छ कि छैन भन्ने प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न आवश्यक उपकरण, साधन र जनशक्ति पर्याप्त भए–नभएकोबारे चासो व्यक्त गरेका हुन्।
विज्ञहरूका अनुसार विपद्पछि फेला परेका शवहरूको पहिचान, अभिलेखीकरण, सुरक्षित संरक्षण तथा सम्मानजनक अन्त्येष्टि अत्यन्त महत्वपूर्ण विषय हो। राष्ट्रिय मानव अधिकार आयोगले समेत विगतमा पहिचान नखुलेका शवहरूको अभिलेख अद्यावधिक राख्न, पहिचानको प्रयास गर्न र आफन्तलाई जिम्मा लगाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो।
हालको विपद्पछि केही स्थानमा शव राख्ने क्षमता अभाव देखिएको र शव संरक्षणका लागि अस्थायी संरचना, ड्राइ आइस तथा विद्युतीय शवदाह गृहको प्रयोग गर्नुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
विपद् व्यवस्थापनका जानकारहरूका अनुसार:शवहरूको तत्काल पहिचान र डिजिटल अभिलेख तयार गर्ने। अस्थायी शवगृह र कोल्ड स्टोरेजको व्यवस्था गर्ने।ड्राइ आइस तथा शव संरक्षण सामग्रीको पर्याप्त आपूर्ति गर्ने।डीएनए नमुना सङ्कलन गरी पहिचान प्रक्रिया सहज बनाउने। स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्य संस्थाबीच समन्वय बढाउने। पहिचान नखुलेका शवहरूको सम्मानजनक व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना लागू गर्ने।
स्थानीयवासीहरूले खोज तथा उद्धारसँगै शव व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्। विपद्को आकार ठूलो भएकाले आगामी दिनमा शव पहिचान, संरक्षण र व्यवस्थापन का लागि थप स्रोत–साधन परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ।







प्रतिक्रिया