Top Header Ad 1

‘गरिबका नाममा सपना बाँडेर सम्पर्कविहीन’ : “उपदान कलेक्सन सेन्टर काठमाडौं”

‘गरिबका नाममा सपना बाँडेर सम्पर्कविहीन’ : “उपदान कलेक्सन सेन्टर काठमाडौं”

परिबर्तन न्युज
८ आश्विन २०८३ बजे
परिबर्तन न्युज
८ आश्विन २०८३

असोज ८, परासी

मिलन केन्द्र नेपालले ‘उपदान कलेक्सन सेन्टर काठमाडौं’ नामक संस्थाविरुद्ध विभिन्न गम्भीर आरोप लगाएको छ।

केन्द्रका पदाधिकारी तथा स्थानीयवासीले सहयोग, राहत तथा भूमिहीनलाई जग्गासहित आवास उपलब्ध गराउने आश्वासन दिएर संस्थाका सञ्चालक सम्पर्कविहीन भएको दाबी गरेका छन्।

Advertisement:Ad

थारु समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवानन्द सिंह फौजदार र सचिव शत्रुधन चौधरी रहेको सो संस्था २०७९ सालमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भएको हो।

केन्द्रका पदाधिकारीका अनुसार २०८१ जेठ ६ गते ‘उपदान कलेक्सन सेन्टर काठमाडौं’ की अध्यक्ष आशिक कुमारी चौधरीसँग सम्पर्क भएपछि दुवै संस्थाबीच सहकार्य सुरु भएको थियो। गरिब तथा असहाय बालबालिकालाई कापी–किताब, लत्ताकपडा, खाद्यान्न वितरण गर्ने तथा वृद्धवृद्धाको सहयोग गर्ने र भूमिहीन नागरिकलाई दुई कट्ठा जग्गासहित आवास निर्माण गरी हस्तान्तरण गर्ने योजना प्रस्तुत गरिएको उनीहरूको भनाइ छ।

थारु मिलन केन्द्रका पदाधिकारीहरूले प्रारम्भिक चरणमा केही सामाजिक गतिविधि सञ्चालन भएको दाबी गरेका छन्। तर, कार्यक्रमलाई कानुनी तथा संस्थागत रूपमा अघि बढाउनुपर्ने विषय उठेपछि संस्थाको वास्तविक उद्देश्यबारे शंका उत्पन्न भएको उनीहरूको भनाइ छ। त्यसपछि संस्थाकी अध्यक्ष आशिक कुमारी चौधरीसहित अन्य जिम्मेवार व्यक्तिहरू सम्पर्कविहीन भएको आरोप लगाइएको छ।

मिलन केन्द्रका अनुसार उक्त संस्थाले विभिन्न जिम्मेवारीमा १६ जना कर्मचारी खटाएको भए पनि उनीहरूलाई अहिलेसम्म तलब उपलब्ध नगराइएको छ। एक पीडितले ठूलो परियोजनाको आश्वासन देखाएर आफूहरूलाई काममा लगाइएको तर पछि सञ्चालक सम्पर्कविहीन बनेको बताए।

त्यसैगरी, मिलन केन्द्रकी कोषाध्यक्ष गीतादेवी चौधरीले आफ्नो १ लाख ५० हजार रुपैयाँ तथा उपाध्यक्ष श्यामकुमारी चौधरीले ३ लाख ६० हजार रुपैयाँ संस्थासम्बद्ध व्यक्ति आशिक कुमारी चौधरीले लगेको दाबी गरेका छन्। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यसैबीच, उपदान कलेक्सन सेन्टरसँग सम्बन्धित आर्थिक कारोबारबारे थप दाबीहरू पनि सार्वजनिक भएका छन्। राष्ट्रिय वाणिज्य बैंक, परासी शाखाका प्रबन्धक गणेश बहादुर चौधरीले टेलिफोन सम्पर्कमा आफू आर्थिक रूपमा ठूलो क्षतिमा परेको दाबी गरेका छन्।

चौधरीका अनुसार संस्थाले विभिन्न स्थानमा ठूला सेमिनार तथा जनसहभागितामूलक कार्यक्रमहरू आयोजना गर्दै सामाजिक सेवामा सक्रिय रहेको छवि निर्माण गरेको थियो। त्यही क्रममा भूमिहीन नागरिकका लागि जग्गा खरिद गर्ने योजना प्रस्तुत गरिएको र सोही योजनाअन्तर्गत आफूलाई पनि संलग्न गराइएको उनको भनाइ छ।

उनका अनुसार ‘राम्रो घडेरी मिलाइदिने’ तथा ‘जग्गा आफ्नै नाममा पास गरिदिने’ आश्वासन दिइएपछि आफू विश्वस्त बनेको र त्यसक्रममा करिब ३५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको थियो। तर पछि सम्बन्धित पक्ष सम्पर्कविहीन बनेपछि आफू ठगिएको हुन सक्ने आशंका लागेको चौधरीले बताए।

स्थानीयवासीका अनुसार उपदान कलेक्सन सेन्टरले विभिन्न वृद्धाश्रम तथा सामाजिक संस्थाहरूमा कपडा, खाद्यान्नलगायत सहयोग वितरण गर्दै आएको थियो। तर पछिल्लो समय सम्पर्क विहीन भएपछि सहयोगको अपेक्षा गरेका लाभग्राहीहरू निराश बनेका छन्।

स्थानीयहरूले विभिन्न राजनीतिक दलका नेता, पालिका तथा वडा कार्यालयसम्म सहयोगसम्बन्धी प्रस्ताव र योजनाहरू पुर्‍याइएको उल्लेख गर्दै घटनाबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्। केही व्यक्तिहरूले भूमिहीनका लागि जग्गा खरिद गरिदिने आश्वासनमा रकम लिएको समेत आरोप लगाएका छन्।

उता, “उपदान कलेक्सन सेन्टर काठमाडौं” तथा संस्थाकी अध्यक्ष आशिक कुमारी चौधरी लाई पटकपटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको जसले गर्दा प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज