Top Header Ad 1

पोखराले गुमायो शिक्षाको उज्यालो बाँड्ने एक अग्रज : रहेनन् ‘रुप सर’

पोखराले गुमायो शिक्षाको उज्यालो बाँड्ने एक अग्रज : रहेनन् ‘रुप सर’

छ दशक शिक्षण पेसामा बिताएका रुप गुरुङको ८१ वर्षको उमेरमा निधन, पोखराको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति

परिबर्तन न्युज
३ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
३ कार्तिक २०८३

कार्तिक २,पोखरा

विद्यार्थीलाई अक्षर मात्र होइन, जीवन बुझ्ने ज्ञान र असल संस्कार सिकाउँदै आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू शिक्षाको सेवामा समर्पण गर्नुभएका पोखराका अग्रज शिक्षासेवी रुप गुरुङ अब हामीमाझ रहनुभएन। पोखरा–१६, दीप निवासी गुरुङको ८१ वर्षको उमेरमा शुक्रबार साँझ काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उहाँको निधनसँगै पोखराले एउटा अनुभवी शिक्षक, समर्पित शिक्षा सेवी र समाजमा सम्मानित व्यक्तित्व गुमाएको छ। दशकौँसम्म विद्यालय र विद्यार्थीको भविष्य निर्माणमा बिताउनुभएका ‘रुप सर’ लाई चिन्नेहरूका लागि उहाँको बिदाइ केवल एउटा व्यक्तिको निधन होइन, शैक्षिक योगदान र आत्मीय सम्बन्धले जोडिएको एउटा युगको अन्त्यजस्तै बनेको छ।

Advertisement:Ad

स्वर्गीय गुरुङको सोमबार धार्मिक परम्पराअनुसार पोखराको शान्ति दीपघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिअघि दीपस्थित उहाँको निवासबाट निकालिएको शवयात्रामा शिक्षासेवी, विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयवासी को उल्लेख्य उपस्थिति थियो। उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका व्यक्तिहरूको उपस्थितिले समाजमा उहाँले आर्जन गर्नुभएको सम्मान र आत्मीयताको झल्को दिएको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्य, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेता हितकाजी गुरुङ, एमाले क्षेत्र नम्बर २ का सचिव झपट रानाभाट, पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यलगायत राजनीतिकर्मी, समाजसेवी तथा शिक्षासेवीहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

वि.सं. २०२२ सालमा भद्रकाली माध्यमिक विद्यालयबाट शिक्षण पेसा सुरु गर्नुभएका गुरुङले आफ्नो जीवनका करिब छ दशक शिक्षा क्षेत्रमा बिताउनुभयो। पोखराका सरकारी तथा निजी विद्यालयमा अध्यापन गराउनुभएका उहाँ विज्ञान र गणित विषयमा विशेष दख्खल राख्ने शिक्षकका रूपमा परिचित हुनुहुन्थ्यो।

उहाँले कन्या स्कुल र नवप्रभात स्कुलमा समेत अध्यापन गराउनु भयो। त्यसपछि निजी शैक्षिक संस्था शिशु निकेतन माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न विशेष भूमिका निर्वाह गर्नुभयो। शिक्षण पेसालाई जागिरमा मात्र सीमित नराखी संस्थागत शैक्षिक विकासमा समेत योगदान पुर्‍याउनुभएका गुरुङले मिलेनियम बोर्डिङ स्कुल स्थापना गरेर आफ्नो शैक्षिक यात्रालाई थप विस्तार गर्नुभएको थियो।

त्यसपछि पोखरा–१६, दीपस्थित सूर्योदय माध्यमिक विद्यालयको प्राचार्यका रूपमा उहाँले सेवा गरिरहनुभएको थियो । उहाँले लामो समयसम्म शैक्षिक नेतृत्व प्रदान गर्नुभएको उक्त विद्यालयको जिम्मेवारी अहिले केही समयअघि देखि उहाँका छोरा राजेश गुरुङले सम्हाल्दै आउनु भएको छ।

शिक्षण पेसाको सुरुवाती चरणमा खेमराज पौडेल, केशवराज पराजुली, श्रीकृष्ण शर्मा र दामोदर शर्मा पराजुलीलगायतसँग सहकर्मीका रूपमा काम गर्नुभएका गुरुङको शैक्षिक यात्रा पोखराको शिक्षा विकाससँग जोडिएको थियो। गुरुङले विभिन्न विद्यालयमा अध्यापन गर्नुका साथै शैक्षिक संस्थाको विकास र विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

‘रुप सर’ – एउटा नाम, अनेकौँ सम्झनामा

विद्यार्थी, सहकर्मी र स्थानीयवासीबीच ‘रुप सर’ का नामले परिचित गुरुङले आफ्नो जीवनको ठूलो हिस्सा अरूको भविष्य उज्यालो बनाउन खर्चिनुभयो। उहाँले पढाउनुभएका विद्यार्थीहरू आज जीवनका विभिन्न क्षेत्रमा पुगेका होलान्। तर, उनीहरूको जीवन निर्माणमा शिक्षकका रूपमा उहाँले पुर्‍याउनुभएको योगदान नै उहाँको जीवनको महत्त्वपूर्ण उपलब्धि बनेको छ।

शिक्षा क्षेत्रमा लामो समय बिताउनु, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउनु र सामाजिक जीवनमा सक्रिय रहनु उहाँको व्यक्तित्वका महत्त्वपूर्ण पक्ष थिए।

उहाँको निधनप्रति दुःख व्यक्त गर्दै स्थानीयवासीले पोखराले एक असल शिक्षक, अग्रज शिक्षासेवी तथा सामाजिक व्यक्तित्व गुमाएको बताएका छन्। विभिन्न सङ्घसंस्थाले पनि उहाँको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन्।

परिवारमा शोक, समाजमा उहाँको योगदानको सम्झना स्वर्गीय गुरुङका श्रीमती नरशोभा गुरुङ, दुई छोरा राजेश र अभिनास तथा छोरी अञ्जली हुनुहुन्छ।

जेठा छोरा राजेश गुरुङ पोखरा महानगरपालिका-१६ का जनप्रतिनिधि समेत रहिसक्नुभएको छ। कान्छा छोरा डा. अभिनास गुरुङ काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ।

परिवारका लागि उहाँ अभिभावक हुनुहुन्थ्यो, विद्यार्थीका लागि गुरु र समाजका लागि एक अनुभवी शिक्षासेवी। यी सबै सम्बन्धमा उहाँले छोड्नुभएको रिक्तता सहजै पूरा हुने छैन।

जीवनको अन्तिम घडीसम्म सम्झनामा रहने व्यक्तित्वहरू केवल आफ्नो पद वा परिचयले महान् बन्दैनन्। उनीहरूले अरूको जीवन मा पुर्‍याएको योगदान, बाँडेका ज्ञान र समाजमा छोडेका असल प्रभावले उनीहरूको पहिचान स्थापित हुन्छ। रुप गुरुङको लामो शैक्षिक यात्रा पनि यस्तै योगदानको एउटा उदाहरण बनेको छ।

रुप सरको भौतिक शरीर अब हामीमाझ छैन, तर उहाँले शिक्षाको माध्यमबाट निर्माण गर्न सहयोग पुर्‍याउनुभएका विद्यार्थी, उहाँले समर्पण गर्नुभएको समय र पोखराको शैक्षिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानमा उहाँको सम्झना जीवित रहनेछ।स्वर्गीय रुप गुरुङप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै