Top Header Ad 1

खुम्बु पासाङल्हामु गाउँपालिकाले खारेज गर्‍यो आइतबारको सार्वजनिक बिदा, अब सातै दिन सेवा प्रवाह हुने

खुम्बु पासाङल्हामु गाउँपालिकाले खारेज गर्‍यो आइतबारको सार्वजनिक बिदा, अब सातै दिन सेवा प्रवाह हुने

परिबर्तन न्युज
१४ मंसिर २०८३ बजे
परिबर्तन न्युज
१४ मंसिर २०८३

मंसिर १३,सोलुखुम्बु

सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिका ले आइतबार दिँदै आएको साप्ताहिक सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ।

गाउँपालिकाको शनिबार सम्पन्न १२१औँ बैठकले आइतबार पनि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार निर्णय आजैदेखि लागू हुनेछ। यससँगै गाउँपालिका अन्तर्गतका सबै कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट आइतबारसमेत नियमित सेवा प्रवाह हुनेछ।

Advertisement:Ad

गाउँपालिकाको भौगोलिक अवस्था र यातायातका साधनको प्रयोग लाई मध्यनजर गर्दा इन्धन बचतका लागि आइतबार बिदा दिने व्यवस्था प्रभावकारी नदेखिएको निष्कर्ष निकालिएको छ। यहाँका सवारीसाधनमा अन्य सहरी क्षेत्रको तुलनामा पेट्रोलियम पदार्थको खपत न्यून हुने भएकाले साप्ताहिक बिदाको औचित्य नरहेको गाउँपालिकाको ठहर छ।

त्यस्तै, आइतबार स्वास्थ्य संस्था बन्द हुँदा दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारदेखि आकस्मिक स्वास्थ्य सेवासमेत सहज रूपमा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको विषयलाई पनि निर्णयको आधार बनाइएको छ।

नयाँ व्यवस्थाअनुसार गाउँपालिकाका कार्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछन्।त्यसैगरी, जाडो मौसममा शुक्रबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

आइतबारको बिदा हटाउने निर्णयसँगै अब गाउँपालिकाका सेवाग्राहीले साताको पहिलो दिन पनि सरकारी सेवा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट विशेषगरी दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा तथा प्रशासनिक कामकाजमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज