मंसिर १२, पोखरा
नव आदर्श सामुदायिक विकास समाज, पोखरा–१६, लामाचौरको अध्यक्षमा सुशील केसी निर्वाचित भएका छन्। संस्थाको शनिबार सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट केसी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदका प्रत्यासी अर्जुन भण्डारीलाई ३२ मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। कुल २७७ मत खसेकोमा केसीले १५० मत प्राप्त गर्दा भण्डारीले ११८ मत प्राप्त गरेका थिए।
यसैगरी, प्रथम उपाध्यक्षमा शोभा बानियाँ निर्वाचित भएकी छन्। उनले प्रत्यासी हरिबहादुर थापालाई पराजित गर्दै १८० मत प्राप्त गरिन् भने थापाले ९० मत प्राप्त गरेका थिए।
अधिवेशनबाट द्वितीय उपाध्यक्षमा विष्णुमाया बानियाँ, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा निर्मल पौडेल, सहसचिवमा गीता भण्डारी र सहकोषाध्यक्षमा विकल सिजापति मगर सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यमा शान्ता केसी, इन्जिनियर सुजन आचार्य, बलराम थापा र राजकुमार केसी चयन भएका छन्। १५ सदस्यीय कार्यसमितिमा बाँकी चार सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ।
अधिवेशन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिको सदस्यमा केशवप्रसाद आचार्य र छवेन्द्रबहादुर थापा रहेका थिए।
नवनिर्वाचित अध्यक्ष केसीले यसअघि संस्थाको कोषाध्यक्ष, सहसचिव तथा द्वितीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
यसअघि संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटन पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गरेका थिए। कार्यक्रममा वक्ताहरूले नव आदर्श सामुदायिक विकास समाजले सामुदायिक विकास, कला तथा संस्कृतिको संरक्षण, खेलकुद, शिक्षा र ज्येष्ठ नागरिकको हितका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
सोही अवसरमा संस्थाद्वारा प्रकाशित ‘नव आदर्श स्मारिका–२०८३’ विमोचन गरिएको थियो। साथै विभिन्न शीर्षकमा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश भण्डारीले आफ्नो कार्यकालमा संस्थाले २५ लाख रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन सचिव शोभा बानियाँले गरेकी थिइन्।
नव निर्वाचित कार्यसमितिले आगामी दुई वर्षसम्म संस्थाको नेतृत्व गर्दै सामुदायिक विकास र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिनेछ।







प्रतिक्रिया