मंसिर १२, पोखरा
पोखरा महानगरपालिका वडा नं. २४ को आयोजना तथा वडा शिक्षा समितिको समन्वयमा आयोजित अन्तरवडा स्तरीय गीत तथा नृत्य प्रतियोगिता–२०८३ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं. २४ स्थित कालिका माध्यमिक विद्यालय पहरेपानीको प्राङ्गणमा सन्चालन भएको उक्त कार्यक्रम वडा नं. २४ का वडाध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष भरत बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घघाटन वडाध्यक्ष अधिकारीले ब्यानरमा हस्ताक्षर गरेर गर्नुभएको थियो।
कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्ष समेत रहनुभएका अधिकारीले वडा शिक्षा समितिले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई समयअनुसार परिमार्जन गर्दै अगाडि बढाइएको बताउनुभयो। यस वर्ष प्रतियोगितालाई विषय गत रूपमा सञ्चालन गरिएको जानकारी दिँदै उहाँले विद्यार्थीहरूका लागि ‘समाज निर्माणमा विद्यार्थीको भूमिका’ र आमा समूहका लागि ‘बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका’ शीर्षक निर्धारण गरिएको बताउनुभयो। सोही विषयवस्तुमा आधारित रहेर सहभागीहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य कृष्णप्रसाद सुवेदीले प्रतियोगितामा सहभागी हुने विद्यालयका शिक्षक, विद्यार्थी तथा विभिन्न आमा समूहलाई जिम्मेवारी, अनुशासित र मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो।
प्रतियोगितामा विद्यालयतर्फबाट पामे आधारभूत विद्यालय, बसन्त आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय, सिद्ध बराहा आधारभूत विद्यालय गरि पाँच वटा विद्यालयको सहभागिता रहेको थियो।
त्यस्तैगरी आमा समूहतर्फ धुपीचौर कृषि आमा समूह, खोरियापानी आमा समूह, पहरेपानी आमा समूह, लौरुक आमा समूह, प्रगतिशील आमा समूह, जलजला आमा समूह, गुन्टेचौर आमा समूह, बाहुन पानी आमा समूह र मैदान आमा समूह गरी नौवटा समूहले प्रतिस्पर्धामा भाग लिएका थिए।
गीत तथा नृत्य प्रतियोगिताको मूल्याङ्कन समितिमा गिरिजा भट्टराई, लालकिशोर मण्डल र नवराज अधिकारी रहनुभएको थियो। मूल्याङ्कन समितिको निर्णयअनुसार विद्यालयतर्फ प्रथम हुने विश्व ज्योति इङ्लिस बोर्डिङ स्कुलले नगद रु. ७ हजारसहित प्रमाणपत्र, द्वितीय हुने पामे आधारभूत विद्यालयले रु. ५ हजारसहित प्रमाणपत्र र तृतीय हुने सिद्धबराह आधारभूत विद्यालयले रु. ३ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यसैगरी, आमा समूहतर्फ प्रथम हुने बाहुनपानी आमा समूहले नगद रु. १४ हजारसहित प्रमाणपत्र, द्वितीय हुने प्रगतिशील आमा समूहले रु. ७ हजारसहित प्रमाणपत्र र तृतीय हुने मैदान आमा समूहले रु. ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
स्थानीय विद्यालयका विद्यार्थी तथा आमा समूहको सहभागितामा सम्पन्न प्रतियोगिताले विद्यार्थीको सिर्जनात्मक क्षमता, सामाजिक चेतना र प्रतिभा प्रस्फुटनसँगै बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई उजागर गरेको छ। साथै, स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा समेत कार्यक्रमले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
वडा नं. २४ का वडा सचिव इन्द्रबहादुर जिसीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम उत्साहजनक सहभागिताका साथ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको थियो।







प्रतिक्रिया