मंसिर ३, पोखरा
पोखरा १६ घार्मीखोला अर्मलामा रहेको अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनमा ठूलो क्षति पुगेको छ।
आगलागीका कारण भवनका माथिल्ला तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने आश्रममा रहेका खाद्यान्न, फर्निचरलगायतका सामग्री पनि जलेर नष्ट भएका छन्।
मंगलबार दिउँसो करिब ४ः३० बजे अचानक लागेको आगो विद्युत् सर्टका कारण भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले प्रारम्भिक अनुमान गरेको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा साँझ करिब ५ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सिमेन्ट, इँटा, बाँस, टिन बाट निर्मित तथा मार्बलको छाना भएको दुईतले भवनको माथिल्लो भाग आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आश्रममा भण्डारण गरिएका अन्नपात तथा प्रयोगमा रहेका फर्निचरसमेत जलेर नष्ट भएका छन्।
घटनामा कुनै मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि भौतिक क्षति भने ठूलो रहेको छ। क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहे पनि प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने बताइएको छ।
बाल आश्रममा भएको यस आगलागीले आश्रमको भौतिक संरचना र त्यहाँ सञ्चालित गतिविधिमा ठूलो असर पारेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया