Worldlink Communications

नेकपाको जनसभाः माघ २३ तयारीमा जुटे जनसंगठन

काठमाडौं श्रद्दा आधिकारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसंगठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौंमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपांगतालगायत पेशा र क्षेत्रका जनसंगठनलाई परिचालन गरेको छ । ती संगठनको केन्द्रीय नेतृत्वले सभामा उपस्थिति बढाउन र प्रचारप्रसार गर्न आफ्नातर्फबाट कार्ययोजना बनाई व्यवस्थितरुपमा काम सुरु गरेका छन् ।सो दिन काठमाडौंका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिएका छन् । उनले काठमाडौं उपत्यका र प्रदेशका जिल्लाबाट उत्साहजनक तयारी देखिएकाले जनसभा विशेष हुने अपेक्षा आफूहरुले गरेको बताएका छन् ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभाको विरोधमा कार्यक्रम गरिरहेकाले यसबारे वाग्मती प्रदेश र काठमाडौं उपत्यकाका कार्यकर्ता, समर्थक र जनस्तरमा धारणा स्पष्ट गर्न नेकपाले सभाको आयोजना गरेको हो । नेकपाका २१ जनसंगठन छन् । ती संगठनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन, युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, ट्रेड युनियन महासंघ नेपाल, नेपाल बुद्धिजीवी संगठन, प्रेस संगठन नेपाल, पेशागत महासंघ नेपाल, जनसांस्कृतिक महासंघ नेपाल, नेपाल मुस्लिम संगठन, नेपाल दलित मुक्ति संगठन, आदिवासी जनजाति महासंघ, खेलकूद महासंघ नेपाल, उद्योग व्यवसायी महासंघ, प्रवासी नेपाली मञ्च (भारत), नेपाल भूमिहीन सुकुम्बासी संगठन, भूतपूर्व सैनिक तथा प्रहरी संगठन, मानवअधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानून व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इञ्जिनीयर संगठन छन् ।

त्यसो त आज बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: