Top Header Ad 1

पाकिस्तानमा ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति

पाकिस्तानमा ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति

परिबर्तन न्युज
८ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
८ कार्तिक २०८३

कार्तिक ७,पोखरा

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लाको रहिम बजारमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक महत्त्वको रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ।

विश्व हिन्दु परिषद् नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त मन्दिरसँगै सम्बद्ध भवन निर्माणका लागि भत्काउने प्रयास भइरहेको घटनाप्रति चिन्ता व्यक्त गर्दै यसलाई धार्मिक आस्था, ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदामाथिको गम्भीर आक्रमणको संज्ञा दिएको छ।

Advertisement:Ad

विज्ञप्तिअनुसार उक्त ऐतिहासिक मन्दिरको अस्तित्व समाप्त पार्ने उद्देश्यले डोजर चलाउने प्रयास गरिएको भन्दै परिषद्ले यस्तो कार्यलाई निन्दनीय र अमानवीय बताएको छ। शताब्दीयौँ पुरानो धार्मिक सम्पदामाथि हुने यस्ता गतिविधिले विश्वभरका सनातन धर्मावलम्बीहरूको भावनामा गहिरो चोट पुग्ने तथा धार्मिक समुदायबीचको विश्वास र सहअस्तित्वमा असर पर्ने परिषद्को भनाइ छ।

स्थानीय हिन्दु समुदाय तथा नागरिक समाजका अभियन्ताहरूको कडा प्रतिरोधपछि मन्दिर भत्काउने कार्य रोकिएको र स्थानीय प्रशासन तथा इभाकुई ट्रस्ट प्रोपर्टी बोर्ड (ईटीपीबी) ले मन्दिर सिल गरेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। यद्यपि, मन्दिर भत्काउने प्रयास रोक्नु मात्रै पर्याप्त नभएको भन्दै परिषद्ले यसको दीर्घकालीन संरक्षण, सुरक्षा र पुनःस्थापनाका लागि ठोस व्यवस्था गर्न माग गरेको छ।

विश्व हिन्दु परिषद् नेपालले घटनाप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तान सरकार, सम्बन्धित प्रशासनिक निकाय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी निकायहरूसमक्ष तीनवटा प्रमुख माग अघि सारेको छ।

परिषद्ले पहिलो मागका रूपमा ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासमा संलग्न भूमाफिया, स्वार्थी समूह तथा जिम्मेवार अधिकारीहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गरेको छ।

त्यस्तै, मन्दिरलाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा कानुनी संरक्षण प्रदान गर्दै यसको मौलिक स्वरूप कायम राख्न, पूर्ण सुरक्षा व्यवस्था मिलाउन र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न माग गरिएको छ।

तेस्रो मागमा पाकिस्तानमा रहेका हिन्दु समुदायका मठमन्दिर, धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा समुदायका सदस्यहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न परिषद्ले आग्रह गरेको छ। धार्मिक तथा सांस्कृतिक अधिकारको निर्बाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्नसमेत विज्ञप्तिमार्फत जोड दिइएको छ।

सनातन धर्मले शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने उल्लेख गर्दै परिषद्ले सबै धर्म र समुदायको धार्मिक आस्था तथा सांस्कृतिक पहिचानको सम्मान गर्नुपर्ने जनाएको छ। कुनै पनि समुदायको धार्मिक आस्था र सांस्कृतिक सम्पदामाथिको आक्रमण स्वीकार्य हुन नसक्ने परिषद्को भनाइ छ।

विश्व हिन्दु परिषद् नेपालका तर्फबाट मठ–मन्दिर, अर्चक तथा पुरोहित विभाग प्रमुख दीपक आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा पाकिस्तानमा रहेका हिन्दु समुदायको धार्मिक तथा सांस्कृतिक अधिकारको रक्षा, ऐतिहासिक सम्पदाको संरक्षण र घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा आवाज उठाउन आह्वान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज