कार्तिक ७, पोखरा
पोखरा महानगरपालिका–१९ स्थित पात्ले युवा क्लबको चौथो साधारण सभा तथा बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठ र ईद लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका–१९ का जनप्रतिनिधि विकासकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष विष्णुप्रसाद गौतम ‘कमल’को अध्यक्षतामा आयोजना गरिएको हो।
कार्यक्रममा क्लबका अध्यक्ष गौतमले गत एक वर्षमा क्लबले गरेका गतिविधि तथा कार्यप्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष अस्मिता गौतमले क्लबको आर्थिक अवस्था र आयव्ययसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेकपा एमालेका युवा नेता एवं क्लबका सल्लाहकार विकास गौतम, नेपाली कांग्रेस पोखरा–१९ का सभापति एवं क्लब का सल्लाहकार विष्णुप्रसाद बास्तोला तथा नेकपा एमाले पोखरा महानगर कमिटीका उपसचिव विष्णुप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले युवा क्लबहरू समाजमा एकता, आपसी सद्भाव र भाइचारा कायम गर्दै सामुदायिक विकासमा योगदान पुर्याउने महत्त्वपूर्ण संस्था भएको बताउनुभयो। उहाँहरूले युवाहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लबहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका समुदायबीच आपसी सम्मान र सद्भाव कायम राख्न पर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूको धारणा थियो।
स्थानीय युवाहरूलाई सामाजिक कार्यमा प्रोत्साहित गर्ने, समुदायबीचको सम्बन्ध सुमधुर बनाउने तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
क्लबका सचिव श्रीकुमार गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा क्लबले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठ र ईदलगायतका पर्वको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।







प्रतिक्रिया