Worldlink Communications

पोखरा १५ मा महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

फागुन १८ पोखरा

पोखरा महानगरपालिका वडा नं. १५ मा महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्न गर्दै वडाले तालिममा सहभागीहरू बिच आजै वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको थियो। ’सामाजिक रूपान्तरणका लागि महिलाहरूको भूमिका’ विषयक प्रतियोगितामा २१ जना प्रतियोगीले सहभागिता जनाउनुभएको थियो। जसमा सानिपाटन आमा समूहकी विनु ढकाल प्रथम भएको थियो भने अनु गैरे द्वितीय, मनु थापा तृतीय र सीता रानाभाट र निर्मला भण्डारीले सान्त्वना प्राप्त गरे। विजेताहरूले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १–१ हजार  पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद भीम कार्कीले मानिसका मन भित्र हज्जारौं तर्कहरू आइरहने तर, जान्ने बुझ्ने व्यक्तिहरूलाई पनि मन भित्रका कुराहरू व्यक्त गर्न कठिन हुने भन्दै यस्ता कार्यक्रमले मन भित्र उब्जिएका हरेक काम कुराहरूलाई अभिव्यक्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । उहाले महिलाहरू शिक्षित भए बालबालिकाले सिक्ने अवसर पाउने र तीनै बालबालिका भविष्यका कर्णधार हुने भएकाले महिलाहरू लाइ चेतनशील बनाउन सकियो भनेमात्रै पनि हाम्रो नेपाली समाज सम्भयतामा अगाडी बढ्ने थियो भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा अध्यक्ष तोरण बानियाँले हामीले लिएको लक्षअनुरूप मानवीय विकासका लागि जबसम्म वडामा रहेका दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिँदैन, उहाँहरू को  सोचमा सकारात्मकता ल्याउन सकिँदैन तबसम्म हाम्रो लक्षले गति लिन नसक्ने भन्दै पूर्वाधार बाहेक अबको मानवीय विकासका लागि महिलाहरूमा चेतनशीलता र क्षमता अभिवृद्धि गर्नु नै विकासको सुचाङ्क बढ्नु रहेको बताउनुभयो ।

वडाका जनप्रतिनिधिहरूको साझा छलफलबाट वडावासी महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यस कार्यक्रमको आयोजना गर्न सफल भएको भन्दै ४५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा वडाका २९ आमा समूहका २५७ जनाको सहभागिता भएको जनाएको जानकारी दिनुभएको थियो ।

कार्यक्रम संयोजक तथा पोखरा महानगरपालिका को कार्यपालिका सदस्य मन्दिरा परियारले वडाका धेरै भन्दा धेरै महिला दिदी बहिनीहरूको सहभागिता होस् भनेर ४५ दिनसम्म ३ दिने प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयो । उहाले दिदी बहिनीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको थियो ।

वडा नं. १५ का निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले क्षमता अभिवृद्धि तालिममा दिदीबहिनीहरूले सिकेका र जानेका कुराहरूलाई आ–आफ्नो समूहमा गएर छलफल गर्न सके, सिकाई आदानप्रदान गर्न सके सबै जनाले सिक्ने अवसर प्राप्त गर्नुहुने थियो भन्नुभयो । उहाले हाम्रो समाजलाई सबै खालको फोहोरबाट मुक्त भएको आदर्श, अनुशासित र संस्कारवान समाज निर्माण गर्नुपर्ने भन्दै त्यो दायित्व र जिम्मेवारी सशक्तीकरण भएका महिला दिदीबहिनीहरुले प्राप्त गरेको र उहाँहरूले नै त्यस को  महत्वपूर्ण भुमिका पनि खेल्ने बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै न्यायिक समिति सदस्य तथा पूर्व वडा सदस्य पार्वती कार्कीले ३ दिने महिला क्षमता अभिवृद्धि कार्यक्रमले महिलाहरूमा नेतृत्वदायी भूमिकाको विकास हुने आशा व्यक्त गरिन् । उनले वडाले ल्याएका यस किसिमका कार्यक्रमले वडाको गरिमा बढाएको प्रतिक्रिया दिइन् ।

माघ १६ गतेबाट सुरु भएको महिला क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकार शुष्मा पौडेल र जमुना वर्षा शर्माले प्रशिक्षण दिनु भएको थियो भने, ४५ /४५ जनाको समूह बनाई ३/३ दिनसम्म तालिम सञ्चालन गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शङ्कर ज्ञवाली, हसिना बस्नेत र विष्णु पौडेल हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन वडा सदस्य आशिष भण्डारीले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: