Worldlink Communications

काठमाडौं का मेयर बालेन्द्र शहालाइ बधाई – अनिल अधिकारी

असार ८, नवलपरासी

प्रीय बालेन धेरै माया

आज सिङ्गो बिश्वले तिमिलाइ चिन्दै गरेको,सम्मान गरेको देख्दा र सुन्दा मन ढक्क भएर फुलेको छ। लाखौ आबेगहरुले सितलता पाएका छन।

मेरा बुवा पुस्ताबाट बिग्रेको राजनीतिलाई एक खास लगाम दिएका छौ। तिमिले गरेको त्यो तिम्रो आट र साहसको म पनि अरु जस्तै लमतन्न परेर सम्मान जताउन चाहन्छु। मैले पनि राजनीति अनि शिक्षा क्षेत्रमा आफै सम्लग्न भएर झन्डै साढे दुई दशकदेखि जोडबल गरिरहेको छु तर नतिजाले कहिल्यै मन सन्तोष भएन। तर आज लामो समय पछि तिम्रो राजनीतिक आगमनले धेरै हौसाएको छ।

तिमिले बाटो बिराएका बा हरुलाई झस्काइ दिएका छौ। अटेरी गर्ने मिचाहाहरुलाइ बालेन युगको पाठ पढाएका छौ। कुनै एक होइन अनेकौ क्षेत्रमा तिम्रो बालेनदृष्टी अचुक काम गरिरहेको छ। तिम्रा प्रत्येक पाइला अब्बल सावित भएका छन। बिदेशीबाट हेपिएका, आफ्नाबाट हेपिएका, स्वदेश मै हेपिएका, ठगबाट मात्रै नभएर आफन्त र बुझ्रुकबाटै हेपिएका हामी धेरैलाइ तिम्रा पाइलाहरुले हौसला दिएका छन।

ब्यक्तिगत सानातिना रिसराग लिएर बसेका र पैसाको उन्मादले राजनीतिमा पसेकाहरुको डसाइबाट आम नेपालीको शिर लत्रीइ रहेका बेला तिम्रा साहसिक कदमबाट अलिकति राहत मिलेको छ। हामी मध्य जोस धेरै भएकाहरुलाइ अर्को चुनाव कुर्न गाह्रो भैरहेको छ। धेरैमा तिम्रो कारण साहस भरिएको छ। तर यथार्थमा तिमी र तिम्रो कौशलता त्यति सजिलो कुरा होइन भन्ने कुरा हामी धेरैलाइ हेक्का रहेको छैन। फेरि पनि जस्तो सुकै रिस उठे पनि तिमिलाइ सिधै गाली गर्न हुन्न भन्ने ज्ञान आम हामी सवैमा आउनु चानचुने कुरो हुँदै होइन।

आशिर्वाद मात्रैमा ठुला ठुला भाग खान पल्केकाहरुले त तिमिलाइ सतोसराप गरेका छन तर तिनले तिम्रो केही उखल्न नसकेको देख्दा मन आनन्दित भएको छ। कहिलेकाही तिम्रा कदमले अति बिपन्न लाई आघात पुगेको महसुस हुँदा हुँदै पनि बेला बेलामा तिमिले ल्याएका विभिन्न योजनामा उनिहरु समेटिएको देख्दा भने तिम्रो नेतृत्व प्रती सलामी नै अर्पण गर्न मन लाग्दछ।

बालेन, तिमी हामी आम नेपालीको पथप्रदर्शक बन्न सफल बन्यौ यो अपत्यारिलो क्षण तिमी आफ्नै बलबुताले ल्याएक हौ यसको लागि तिमिलाई धेरै धेरै बधाई छ। मलाइ त अझ धेरै खुशी त्यति बेला लाग्यो जतिबेला तिमिले काठमाडौको जलजला स्कुलको नाम लिएर त्यस बिध्यालयमा केही समय अध्यन गरेको खुलासा कुनै एक अन्तरबार्तामा गर्यौ। उक्त स्कुलमा पाँच बर्ष पढाएको नाताले हतार हतार केही पुर्व बिध्यार्थिहरुलाई सम्पर्क गरे तर तिमिलाइ ठम्याउन सकिन। मेरो खोज खास गरि कस्तो बालकमा त्यो उर्जा थियो भन्नेमा मात्रै केन्द्रीत थियो। सायद त्यति बेलाका त्यस बिध्यालयका प्राचार्य स्व. आदरणीय सर सिताराम मास्केको स्कुलिङ्गले तिमिलाइ राजनीति प्रतीको स्नेह जगाएको हुनु पर्छ।

मलाई याद छ सरले प्राय सवै कक्षामा पुगि एउटै voice राख्नु हुन्थ्यो। ” अब तिमिहरुले हो देश बिकास गर्ने । राजनीति गर्नु पर्छ तिमिहरुले” मलाई यी शब्द आज सम्म पनि ताजै लाग्छ। साह्रै धेरै कुरा नबुझी तिम्रो एक अन्तरबार्तालाई आधार बनाएर यत्ती ब्यक्तिगत अनुभव जोडे आसा छ यसलाई अन्यथा लिने छैनौ।

मधेसको उर्वर माटो अनि काठमाडौको शितल वातावरण को सम्योजन अत्यन्तै अभुतपुर्व बनेको छ। हामी आम नेपाली चौपट्टै खुशी छौ तिम्रो न्यानो कामबाट। अघि बढ्नु र सधै हाम्रो हौसला बन्नु। युवाले चाहे के हुन्न र भन्ने सन्देशको नेपाली माटोमा छुटै पहिचान बनाउन सफल तिमिलाई लाखौ लाख शुभकामना छ। धेरै धेरै बधाई छ।

(- लेखक अनिलचन्द्र अधिकारी दिव्य ज्योति बहुमुखी क्याम्पस चिसापानी का प्राध्यापक हुनुहुन्छ)।

प्रतिक्रिया दिनुहोस्: