पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते १९औ रोपाइँ महोत्सव हुने
असार १३ , पोखरा
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९ औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९ औँ संस्करणको तयारीलाई तीव्र बनाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहनुभएको छ।
महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुुति पनि रहने छन् ।२०६१ सालबाट शुरु भएको महोत्सव यस अगाडिका बर्षहरुमा बिरुवा फाँट,कुँडहरु फाँट,बाच्छेबढुवा,सेदिबगर,फेवा फाट,अर्मला फाँट,महतगौडा,लमाचौर,लेखनाथ,पामेफाँट जस्ता पोखरा महनागरपालिकाका भित्रका खेति योग्य जमिनमा आयोजना हुदै आइरहेको छ ।