पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र

भाद्र १, पोखरा
नेपाली नारीको महान् धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा रहेको हरितालिका तीजको अवसरमा पोखरा–१६ बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ का लागि तयारी तिब्र पारिएको छ।
यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा आयोजना हुने मेलालाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरू सक्रिय बनेका छन्।मेला तयारीकोबारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले दुई दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मुल समिति र आठ वटा उपसमितिले आ–आफ्नो कामलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो।
ऐतिहासिक महत्त्व
कार्यक्रममा वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरमा परापूर्वकालदेखि नै तीज मेला सञ्चालन हुँदै आएको स्मरण गर्दै यसलाई ऐतिहासिक सांस्कृतिक सम्पदा भएको बताउनुभयो। उहाका अनुसार वडा कार्यालय मेलाको आयोजक नभई संरक्षक मात्र भएको र समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। वडाभित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रवर्द्धनका लागि स्थानीय सरकार सदैव साथ दिने बताउनुभयो।
खर्च र व्यवस्थापन
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक रामबहादुर बानियाँले आर्थिक असहजता भए पनि मेलालाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतका अनुसार मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गर्नुभएको छ। यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगी संस्थाबाट सहयोग अपेक्षित गरिएको जानकारी दिनुभएको थियो।
कार्यक्रमहरूको विवरण
मेलाको पहिलो दिन भदौ ९ गते बिहान प्रभातफेरी र महिला दौड कार्यक्रम हुनेछ भने दिउँसो अन्तर–विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता आयोजना हुनेछ।
दोस्रो दिन भदौ १० गते औपचारिक उद्घाटनपछि समूहगत तीज गीत प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम र झण्डै २० वटा टोलीको प्रस्तुति रहने सह–संयोजक मन्जु नेपालीले जानकारी दिनुभयो।
सांस्कृतिक संरक्षणमा जोड
पत्रकार भेटघाटमा सहभागी संयोजकहरूले तीजको परम्परागत हम्काईलो भाकालाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। नयाँ पुस्तालाई सांस्कृतिक धरोहरबारे जानकारी गराउन मेलाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको थियो।
प्रचार–प्रसार र व्यवस्थापन
प्रचार प्रसार संयोजक मोहन थापाले मेला केवल बाटुलेचौरकै नभई समग्र पोखरावासीकै भएको बताउँदै, यसलाई सफल बनाउन सबै पक्षले जिम्मेवारी वहन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रम प्रचार प्रसार संयोजक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मुल समितिका सदस्य भीमबहादुर गायकले गर्नुभएको थियो।
ऐतिहासिक तथ्य
स्थानीय जानकारका अनुसार वि.सं. १५२५ भन्दा अघि नै बाटुलेचौरमा सेतीगंगा स्नान गर्न आएका लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलामलगायतका स्थानका महिलाहरू यहाँ भेला भई तीजका गीत गाउने चलन रहेको थियो। यही परम्परालाई निरन्तरता दिँदै हालसम्म मेलाले ऐतिहासिक महत्त्व कायम राख्दै आएको विषयमा सबैलाई जानकारी गराइएको थियो।