धर्म–संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरा -४ मा खुला भजन प्रतियोगिता हुने

धर्म–संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरा -४ मा खुला भजन प्रतियोगिता हुने

परिबर्तन न्युज
२५ माघ २०८२ बजे
परिबर्तन न्युज
२५ माघ २०८२

माघ २५, पोखरा

धर्म संस्कृतिको संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मूल नारासहित पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजना, सर्वेश्वर महादेव संरक्षण समितिको समन्वय तथा परोपकार सर्वेश्वर नारी समूहको व्यवस्थापनमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ।

Advertisement:Ad

पोखरा महानगरपालिका वडा नम्बर ४ अन्तर्गत गैंडापाटनमा अवस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङ्गणमा यही फागुन ३ गते प्रतियोगिता आयोजना गरिने विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रम वडा अध्यक्ष देवकृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पराजुलीले धार्मिक आस्था, मौलिक संस्कृतिको संरक्षण र स्थानीय धार्मिक स्थलको प्रचार–प्रसारका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव बढाउनुका साथै नयाँ पुस्तालाई धर्म, संस्कार र परम्पराप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

पत्रकार भेटघाट कार्यक्रममा वडा अध्यक्ष पराजुलीले कार्यक्रमको उद्देश्य, व्यवस्थापन, प्रतिस्पर्धाको ढाँचा तथा पुरस्कार संरचना सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्दै सम्पूर्ण भजन समूह, धार्मिक संघ–संस्था तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।

प्रतियोगितामा सहभागी समूहहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार

प्रथम पुरस्कार नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र

द्वितीय पुरस्कार नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र

तृतीय पुरस्कार नगद २० हजार रुपैयाँ र प्रमाणपत्र

सान्त्वना पुरस्कार नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी उत्कृष्ट झाँकी तथा भेषभूषा प्रस्तुत गर्ने समूहलाई नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने भजन समूहहरूले फागुन १ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने जनाइएको छ।

आयोजकका अनुसार खुला भजन प्रतियोगिताले सर्वेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक महत्व उजागर गर्नुका साथै पोखरालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै