जेठ ३१, पोखरा
“सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नाराका साथ पोखरा महानगर पालिका वडा नं. १९, लामाचौरले आयोजना गरेको तीनदिने साबुन तथा हरपिक–फिनेल निर्माण तालिम सम्पन्न भएको छ।
जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिम वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँ बजेटमा सम्पन्न भएको हो।स्थानीय नागरिकलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वरोजगार तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूलाई घरेलु तथा व्यावसायिक प्रयोजनका लागि साबुन, हरपिक र फिनेल उत्पादन गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो।तालिमकी प्रशिक्षक शोभा कँडेल तिम्सिनाले सहभागीहरूलाई उत्पादन प्रक्रिया, कच्चा पदार्थको सही प्रयोग, गुणस्तर व्यवस्थापन तथा बजार सम्भावनाका विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले घरमै बसेर आयआर्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सीप विकास आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो। उहाले सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक सशक्तीकरणसँगै उद्यमशीलताको विकास हुने धारणा राख्नुभयो।
कार्यक्रममा अतिथिका रूपमा रहेका जनप्रतिनिधि विकास आचार्य ले पनि तालिमको नारासँग सम्बन्धित रहेर आफ्नो मन्तव्य राख्दै सीपमूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।जनप्रतिनिधि दुर्गा बस्नेतको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जनप्रतिनिधि कल्पना सुनारले कार्यक्रमलाई भव्य र सभ्य ढंगले सञ्चालन गर्नुभएको थियो।
आयोजकहरूको तर्फबाट सूर्यकला अधिकारी केसी र बालकुमारी नेपालीले मन्तव्य राख्दै यस्ता कार्यक्रमले महिलाहरू, युवा तथा स्थानीय समुदायलाई आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने बताएका थिए। उनीहरूले प्राप्त सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रह समेत गरेका थिए।
तालिम समापनका अवसरमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिमका क्रममा उत्पादन गरेका हरपिक, फिनेल तथा साबुन पनि उपलब्ध गराइएको थियो। यसले सहभागी हरूलाई सीपसँगै उत्पादनको प्रत्यक्ष अनुभव दिलाएको आयोजक हरूको भनाइ छ।
कार्यक्रममा प्रशिक्षक, प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। समापन समारोहमा कार्यक्रम संयोजक दुर्गा बस्नेत ले आफ्नो सारगर्भित भनाइ राख्दै तालिमले समुदायमा आत्मनिर्भरता र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
पोखरा महानगरपालिका वडा नं. १९ ले पछिल्ला वर्षहरूमा सीप विकास तथा आयमूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ। यसपटकको साबुन तथा हरपिक–फिनेल निर्माण तालिम पनि त्यसैको निरन्तरता भएको स्थानीयवासीहरूको भनाइ छ।
सहभागीहरूको उत्साहजनक उपस्थितिले यस्ता कार्यक्रमप्रति समुदायको चासो बढ्दै गएको संकेत गरेको छ। स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता सीपमूलक तालिमले रोजगारी सिर्जना, साना उद्यम प्रवर्द्धन तथा आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया