भाद्र २०, पोखरा
भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा मृतकहरूको सम्झनामा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखरा–१६ बाटुलेचौरले विभिन्न मानवीय कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मञ्चले बाढीपीडितहरूको सहयोगका लागि करिब दुई लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिनुभयो। उहाँका अनुसार प्राकृतिक विपत्तिबाट पीडित बनेका नागरिकहरूको दुःखमा साथ दिन र मानवीय सहयोगको भावना अभिवृद्धि गर्न उक्त रकम संकलन गरिएको जानकारी दिनुभयो।
यसैबीच, नेपाल सरकारले भाद्र २२ गते राष्ट्रिय शोक मनाउने तथा देशभरका सरकारी कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको सन्दर्भमा मञ्चले सोही दिन साँझ पोखरा–१६ बाटुलेचौर स्थित मैदान चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। बाढी तथा विपद्का घटनामा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरू को चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन गर्न लागिएको मञ्चका उपाध्यक्ष सञ्जय बस्नेतले बताउनुभयो।
मञ्चका सदस्य इ. महेन्द्र बानियाँका अनुसार प्रारम्भमा सदस्यहरू बाट सानो–सानो रकम संकलन गरी कम्तीमा १० हजार रुपैयाँ मात्र भएपनि सहयोग गर्ने लक्ष्य राखिएको थियो। तर, भूतपूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता र भु पु विधार्थी मन्च प्रतिको विश्वासका कारण करिब दुई लाख रुपैयाँ संकलन गर्न सफल भएको उहाँले बताउनुभयो।
“विपदमा परेका नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले सुरु गरिएको अभियानमा पूर्वविद्यार्थी साथीहरूले देखाएको सहयोग, सदभाव र मानवीय संवेदनाप्रति हामी आभारी छौँ,” मञ्चका सदस्य एवं पत्रकार प्रकाश चन्द्र अधिकारीले बताउनुभयो। उहाँले मृतकहरू को आत्माको चिर शान्तिको कामना पीडित परिवारप्रति सहानुभूति र सहयोगको भावना प्रकट गर्ने सम्पूर्ण भूतपूर्व आदरणीय विद्यार्थी साथीहरुलाई हृदयदेखि नै उच्च मूल्याङ्कनसहित धन्यवाद समेत व्यक्त गर्नुभयो।
मञ्चका सचिव भीम गायकका अनुसार सहयोग संकलन अभियान अझै खुला राखिएको छ। विन्ध्यवासिनी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूलाई सक्दो सहयोग गर्न आग्रह गर्दै हजुर हाम्रो स-सानो सहयोग र योगदानले ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले विपद्को यस कठिन घडीमा राहत, सहानुभूति र सामाजिक एकताको सन्देश प्रवाह गर्न सम्पूर्ण पूर्वविद्यार्थी तथा स्थानीयवासीलाई दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरेको छ।







प्रतिक्रिया