असोज २३, पोखरा
कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्लेमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस सडक बाट तल भीरमा खस्दा दुई बालिकासहित पाँच जनाको मृत्यु भएको हो।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको पुष्टि भएको थियो। उद्धारका क्रममा थप दुई बालिकाको ज्यान गएको जानकारी प्राप्त भएको छ।
यसअघि गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र जिसीले दुर्घटनामा दुई विद्यार्थी र एक सवारीसाधनका कर्मचारी गरी तीन जनाको मृत्यु भएको पुष्टि गरेका थिए। मृतकहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका–२८ को माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्ले क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब १५० देखि २०० मिटर तल भीरमा खसेको थियो।
दुर्घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए। घटनामा घाइते भएका १८ जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको कास्की प्रहरीले जनाएको छ।
दुर्घटनामा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बसमा सवार विद्यार्थी तथा अन्य व्यक्तिको यकिन संख्या खुल्न सकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकहरूको सनाखत र दुर्घटनाको कारणबारे थप विवरण उद्धार कार्य सम्पन्न भएपछि खुल्ने प्रहरीले जनाएको छ।







प्रतिक्रिया