मंसिर १३, पोखरा
जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष पदमा रानाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाकी ज्येष्ठ नागरिक भगवती खत्री प्रमुख अतिथि तथा अर्की ज्येष्ठ नागरिक हरिकला खत्री विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवात राष्ट्रिय सम्मान र राष्ट्रिय एकताको भावना अभिव्यक्त गर्दै राष्ट्रिय गानबाट गरिएको थियो। शिक्षा उपसमितिका सदस्य अनिल दाहालले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष भीमप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भगवती खत्रीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले संस्थाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगति र सफलताको कामना गर्नुभएको थियो।
त्यसैगरी विशेष अतिथि हरिकला खत्रीले पनि संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आफ्नो बाल्यकालमा गाउने गरेको गीतको स्मरण गर्नुभएको थियो। उहाँको बाल्यकालको गीतसम्बन्धी स्मरणले कार्यक्रममा थप आत्मीयता र रौनकता थपेको थियो।
संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष सविन जिसी, संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नरेश कुमार श्रेष्ठ,नीति तथा योजना तर्जुमा समितिका संयोजक बलबहादुर श्रेष्ठ लगायतका व्यक्तित्वहरूले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, भावी योजना तथा सहकारीका गतिविधिबारे आफ्नो धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
सहकारीले स्थापना कालदेखि नै शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। सोही क्रममा प्लस टु तह उत्तीर्ण गरेका संस्थाका सेयर सदस्य तथा सेयर सदस्यका छोराछोरी ११ जना विद्यार्थीलाई सम्मान गरिएको थियो।
यसैगरी संस्थाले असल बचतकर्ता, असल बाल बचतकर्ता तथा असल कारोबारीलाई समेत सम्मान गरेको थियो। सदस्यहरूमा बचत गर्ने बानीको विकास, वित्तीय अनुशासन, नियमित कारोबार तथा शैक्षिक प्रगतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।
सभामा संस्थाका अध्यक्ष पदमा रानाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी सचिव प्रकाशचन्द्र अधिकारीले सचिवको प्रतिवेदन, लेखा संयोजक भगवती थापाले लेखा समितिको प्रतिवेदन तथा कोषाध्यक्ष शिवप्रसाद पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सभाको अन्तिम चरणमा आर्थिक वर्ष २०८३/८४ का लागि छलफल का विभिन्न विषय तथा प्रस्तावहरू कार्यक्रम सञ्चालकसमेत रहनु भएका सचिव प्रकाशचन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विषयहरूलाई सभामा सहभागी सदस्यहरूले ताली बजाएर समर्थन जनाएका थिए।
विभिन्न प्रतिवेदन प्रस्तुत, छलफल तथा सम्मान कार्यक्रमसहित सम्पन्न सभाको अन्त्यमा अध्यक्ष पदमा रानाले उपस्थित अतिथि, सेयर सदस्य तथा सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै सभा समापन भएको घोषणा गर्नुभएको थियो।







प्रतिक्रिया